मायाको विषयमा एक आख्यान लेखूँ जस्तो लागेको पनि धेरै भैसक्यो । व्यस्त शहरमा एक सामान्य हाटेल थियो उनको । बा आमा एक कुनामा थिए; खाटमा । काठको दराजमाथि एउटा टी भी थियो । धुँवाले कालो भएको कोठामा केही बेन्ची र डेस्कहरू थिए ।
हामी खाना खान जान्थ्यौं,मिटिङ सकेपछि । सस्तो र घरकै जस्तो खानपिनको व्यवहार भएकोले हामी त्यहाँ जान्थ्यौं । केही वर्ष पछि हामीले उनको आमालाई मात्र देख्यौं, त्यही खाटमा । खाना खाने दौडानमा हामीले सोध्यौं,
खोइ त बाजे त देखिनुहुन्न त ?
बाजे त बितिसक्नु भो नि ।
ए ़़़ हो र ?
हो नि, पोरपरारै पो त ।
त्यस दिन खाना अलि नमिठो जस्तो भो मलाई । मायाको पकाइमा कुनै गल्ती थिएन । मन अलि अमिलो भयो । मायाको अनुहारमा नियाँले - अलि पाकी झैं देखिन् उनी । हाँस्दा पहिले झैं आकर्षण देखिँदैनथ्यो ।
केही वर्ष पछि, एकदिन हामी त्यहीं खाना खान गयौं । हाम्रो चिनजानको होटेल त्यही थियो । आफ्नै घर जस्तो मानेर हामी खान्थ्यौ त्यहाँ । लावती सरले त बन्दाकोपी उसिन्न लगाउनु हुन्थ्यो । मायाले अलि पारा नल्याउँदा आफै तम्सिनुहुन्थ्यो -
यसरी पो त हौउ, माया
माया मुस्काउथिन् । तेज गुमिसकेको फूल जस्तै लाग्थ्यो मलाई उनको अनुहार । दुइ तीन वर्ष पहिले माया निकै उज्याली देखिन्थी । आँखाले अनुहारको इतिहास खोज्न थाल्दो रहेछ । कुनै उन्नति त घटेर सानो बन्न नसक्ने पनि हुँदो रहेछ । माया फेर्केर फेरी त्यहीं पुग्न नसक्दा कति नरमाइलो लाग्थ्यो मलाई ।
खोइ त बोजु देखिनुहुन्न त ?
लावती सर फाक्सा र उसिनेको बन्दाकोपी मुखभरी लगाउदै बिग्रेको आवाजमा बोल्नु भो ।
बोजु त बितिसक्नु भो नि ।
ए ़़़ हो र ?
हो नि, पोरको साल ।
पहिलेको खाट त्याहाँ थिएन । अन्तै सारेछन् । पहिले त्यहाँ एउटा टिभी पनि थियो । अलिपर्तिर अर्को कोठामा सारेछन् । मायाका बा आमा बितिसकेर पनि हामी त्यहाँ समय समयमा खाना खान गैरहन्थ्यौं । अरुभन्दा सस्तो र चिनजान भएकोले हो ।
अर्को पल्ट भोकले लखतरान भएर हामी मायाको होटलमा गयौं । मायाले होटल गर्न छोडिसकेछिन् । त्यसपछि हामी कन्चनजंघा होटेलमा गयौं । निकै महंगो तर नमिठो खाना खायौं , मायाका केही संझनासँगै ।
केही वर्षपछि फेरि खाना खानको लागि त्यहाँ पुग्दा सडक विभागले बाटो चौडा बनाउने अभियानमा सबै बुल्डोजरले तोडफोड पो गरिसकेको रहेछ । भात खाने निहुमा घरिघरि त्यही जान पनि सरम पो लाग्न थाल्यो अब त ।
जनावरहरु एक स्थानबाट अर्को स्थानतिर सर्नुका कारणहरू ़़़
छोरीले अंग्रेजीमा जीवविज्ञान पड्दैथिन्
आवास
शत्रुबाट सुरक्षा
र खाना
छोरीको पाठलाई मनमा खेलाउँदै कार्यालयतिर लागें । बसमा जाँदै गर्दा बाटो छेउमा एकजनाले अखबार पढिरहेको देखें । मनमा सोंचेँ - यसलाई हबारमासको संचार सिद्धान्त थाहा छ कि छैन होला ? कि मलाई अझ बढी बुझाउन पो सक्छ कि ? मानिसलाई सत्य तथ्य बुझ्नको लागि कति स्वतन्त्रता चाहिएला ? दिमाग छ भन्दैमा सबै थोक नबुझिदो रहेछ । कान्टलाई पनि यसैको समस्या पर्यो होला ।
एकैछिन पछि बसमा एक युवती चढी । तिनी गोरी थिइन् । मेरो ध्यान उनको गलामा पर्यो । आकर्षक लकेट चम्किरहेको थियो, हरियो रङको पत्थर । हरियो ठिकै थियो तर अझ निलो बढी खुल्थ्यो कि ? यस्तै कुरा सोच्दै थिएँ । बसमा बजेको हिन्दी गानाले मेरो ध्यान खिँच्यो । एउटा गानाको निम्ति कति धेरै ध्वनिहरू संयोजन गर्दारहेछन् भारतीय संगीतले । चर्चमा गिटार बजाउने भाइको याद आयो । उनले खुट्याउन सक्थे कि कतिवटा ध्वनि संयोजन भएको छ यो गानामा । सँगै बसेर छलफल गर्नपाउँदा मजा आउने थियो । गिलास पनि बजाउँछन्,चुट्की पनि बजाउँछन्, बीच बीचमा ‘हाअ् हाअ्’ पनि मिसाउँन् । प्राचीन बाजा पनि मिसाउँछन् । माटाका घैटाहरू पनि ठोक्छन् ।
हिजोअस्ति भर्खरको कुरा हो, राती बाह्र बजेसम्म एक्लै टीभी हेर्दै हाँसिबसेको थिएँ । एकजना हास्यब्यंगकार कविले एक तवलाबाजको बारेमा खूब हाँसउठ्दो कविता भन्दैथिए,
तवला तो बजाते हो, मगर मटकाको क्यौं ठोक्ते हो ?
वह तो फुट भी सकता है ना
मटका तो ठोकते हो, फिर तुम्हारे कन्धे क्यौं हिलाते हो ?
वह तो टुट भी सकता है ना
यस्तै यस्तै के के कुराहरूले कविता जमाइ रहेका थिए कविजी । तबला बजाउनेले तबला ठोकेको धुनमा आफ्नो काँध हल्लाएको देख्दा ती कविलाई कविता फुर्देा रहेछ । उनको कविताले मलाई एकान्तमा पनि धेरैपल्ट एक्लै हँसाएको छ । बसमा पनि झन्डै एक्लै हाँसेछु । कमेडीमा मानवीय असन्तुलनले कलाको रुप पाउँदो रहेछ । शूट बूट कसेर हिडिरहेको भलाद्मी मान्छे केराको बोक्रामा एक्कासि प्लित्त चिप्लेर लड्दा देख्नेहरू को पो धुरधुरि रोइबस्छ होला ? मनलाई तानेरै छाड्ने कुराहरू पनि धेरै छन् नि संसारमा ।
भित्रभित्रै हाँस्दै ओर्लिनु पर्ने बस बिसौनीमा आएपुगेछु । चिडियाखाना पछाडि गल्ली हुँदै हिड्छु म । त्यहाँका दिवारहरुमा निकै सन्देसमूलक चित्रहरू बनाएको देखेको छु । यो कसैको अभियान हुनुपर्छ जस्तो लाग्छ । ‘यहाँ पिसाब फेर्ने मान्छे कुकुर हो’ लेखिएको थियो तर त्यसले खासै काम गरेको देखिन । अलि पर्तिर बाघको टाउकोमा नारीको चित्र छ । छेउमा बाँदरको टाउकोमा सुन्दर नारीको चित्र पनि छ । अझै पर त्रिकोणहरूको मिश्रणमा घोडाको चित्र पनि छ । भर्खरै तीनवटा सुन्दर चित्रहरू पनि थपेको पाएँ । सुन्दर हरियाली वनको चित्र, बाक्लोगरी बनाइएका शहरका अग्ला भवनहरूको चित्र र कुनै गाउँको झोलुङ्गे पुलको चित्र जसमा सुकेको नदी छ, ढुङ्गाहरू पनि छन् । केही दिन पछि त एउटा चित्र मात्रै थियो- बाक्लोगरी बनाइएका शहरका अग्ला भवनहरूको चित्र । तल लेखिएको थियो- ‘कङ्क्रिट जङ्गल ?’ पहिलेको सुन्दर हरियाली वनको चित्र र पुलको चित्र चाहिँ हटाइएको थियो ।
त्यहाँदेखि सिधै गएर उज्यालो घर पुगेर दाहिने मोडिनै लाग्दा एउटा झुत्रेझाम्रे जवान केटो छछाडा बोल्दै एक्लै रुँदैथियो । त्यसलाई धेरैचोटी त्यस्तो रूपमा देखेकोछु मैले । सुरु सुरुमा त मलाई खूब दया लागेर आउँथ्यो । मन्दिर छेउमा पनि रोइबसेको देखेको थिएँ । उसलाई देखेर खूब मेरो मन पगालेर कविता पनि लेखेको थिएँ,
आज त्यही बाटोले
एक जवानलाई मन्दिरमा ल्याइपुर्याएको छ ।
मन्दिरमा आफ्नो सिर ठोक्काउँदै
देउताहरू तर्सिनेगरी ग्वाँ ग्वाँ रुन्छ ऊ ।
(बाटोमा भेटिएको इतिहास)
हिजआज त त्यो जवानलाई देखेर रिसरिस पो उठेर आउँछ । जुन ठाउँमा ऊ रोइबस्दथ्यो त्यहाको भगवानको मूर्ति गायब भएको देखेको थिएँ । अर्को कुरा, मूर्ति गायब भएपछि त्यो जवान त्यहाँ फेरि रोइबसेको देख्दिन । धेरै दिनसम्म मलाई सिधा नजरले हेर्दैनथ्यो त्यसले । पागलहरूको पनि होस हुन्छ जस्तो लाग्छ मलाई । शायद त्यही होसको कारणले होला, आफूले पनि होटेल्नी मायाको आख्यान लेख्न कहिल्यै भ्याइएन ।