Wednesday, December 24, 2014

रातले छलेको जुनकिरी



सुख भोग गर्नेहरू भन्दा दु:ख भोग गर्नेहरूको कथा धेरै हुन्छ । दु:खी त राजाहरू पनि हुने गर्छन् । सुख र दु:ख विश्वव्यापी अनुभव हो । मानवताको कसी हो । 
मेरो घरमा सोलार प्यानल बिग्रेको छ । बिजुली आउँदा वाटर हिटर चलाएर पानी तताउँछु, र एक बाल्टी चिसो पानी मिसाएर डेढ बाल्टी पानीले नुहाउने काम गर्छु । तर आज तातो पानीले नुहाउने साइत जुरेको छैन, कारण लोडशेडिङले गर्दा हो ।

चिसो पानीले तर्सिनेगरी नुहाएर म छतमा घाम ताप्न गएँ । धेरै जनाले आ–अाफ्ना
छतमा निस्केर नानीहरूसँग चङ्गा उडाउँदै रहेछन् । पर पर आकासमा खै क–कसका गङ्गीविरङ्गी चङ्गाहरू देखिन्थे । क–कसका हातका डोरीले ती अल्झेका थिए मलाई थाहा थिएन । नजिकका छिमेकीहरूले डोरी खिँच्दै चङ्गालाई नियन्त्रण गर्दै दिशा बदल्दै उचाइ बढाउँदै चङ्गालाई नियन्त्रण गरेको देख्दा ती सबै चङ्गाहरू त्यसरी नै अदृश्य हातका डोरीहरूमा बाँधिएर आकासमा उडदै रहेछन् भन्ने बुझें । हात देखिनँ तर चङ्गा अल्झेरै उडेको देखें ।

“पापा, लु यो समाउनु त ”
हातमा रातो रङको चङ्गा लिएर सन्जु म तर्फ बढ्यो ।

“काउन्ट डाउन थ्रीमा छोडिदिनू है !!
 म यताबाट डोरीले खिँच्छु । ”

मैले चङ्गाका दुई छेउ हातका दुई औंलाहरूले हल्का च्यापेर हावाको वहावलाई विचार गर्दै भनें, 
ओ के, हेअ वी गो – इन् थ्री, टु, वन् ग् गो......!!


सन्जुले एकदुईपल्ट डोरी झट्काए पछि चङ्गा बिस्तारै उँभो खिचिँदै गयो । उसले डोरी खुकुलो पार्दै छोड्दै गयो । चङ्गा उड्दै गयो । घरिघरि वेगले बटारिएर अरूको घरको छतमा जोतिएर झर्न खोज्थ्यो । अलिकति डोरी खुकुलो छोडेपछि फेरि चङ्गा खुशीले उँभो खिचिँदै जान्थ्यो । 

आकास हेर्दा खुला देखिए पनि निर्वाध भन्ने कुरा त्यहाँ पनि नहुँदो रहेछ । फुलचोकी डाँडालाई झन्नै झन्नै छोएर विदेशी हवाइजहाज आकासमा तैरिएर सललल बग्दै आउँथे । एअरपोर्टसम्म ननिहुरिकन रनवेजको पाउ नछोएसम्म हुँदैहुँदैन थियो ।

सन्जुको चङ्गा हेर्दाहेर्दै अर्को चङ्गाको डोरीसँग अल्झेर सकसमा पर्यो । अहिले भर्खरसम्म हाँस्दै गरेको उज्यालो अनुहारमा चङ्गाको दु:खाइ बगेर आयो । उसले डोरी झट्काउँदै गुन्गुनाउन सुरु गर्यो,
“ काँ अल्झेछ !! क्यै पनि छैन त !!
हेर्दा उसले देख्दैन थियो तर डोरीले त अल्झाएकै थियो ।

“ यो हावा पनि........ यति नै बेला........ ल हेर् न..... ” 

उसले एकदुईपल्ट जोडले डोरी झट्कायो । चङ्गा झन् टाढा गयो । ढुन्मुनिँदै गएर कतै अदृश्य भयो । शायद कसैको छतमा झर्यो होला । सन्जुको अनुहार हार र असफलताले रङ्गियो । चङ्गा उसको अधिनताबाट स्वतन्त्र भएर कतै विलिन भयो । धेरै टाढा त हैन तर धेरै अग्ला भवनहरूका बिचमा कतै हरायो । गुमाउनुको पिडा अनुहारमा रङ्गिँदो रहेछ । मैले उसलाई बहलाउने बहाना खोजें – 
आ..... छाड् दे, त्यस्ता नाथे चङ्गा !!

उसको हराइले प्रकट गराउँदै थियो– मेरो बहानाले त उसको क्षतिको झन् अवमूल्यन पो भएछ । तर पुरै अभिव्यक्त भएन ।

“ हुर्र् रे ........ लाइन आयो !! ” 

छिमेकी घरभित्र अरू आइमाई केटाकेटीहरू जोडले कराए । एकैछिनमा रेडियो एफएम र टीभीमा गीतहरू गुँजिन थाले । 

ल जाऔं तल । अब टीभीमा फिल्म हेर्नुपर्छ । 
हराएको चङ्गाको घाउलाई थाती राख्दै हामी तल कोठमा झर्यौं । टीभी अघि नै चालु भैसकेको रहेछ । उनका बहिनीहरूले हिन्दी चलचित्र कटिपतंगको क्लाइमेक्सको दृश्य हेर्दै रहेछन् । नायिका चारैतिरबाट हन्डर खाएर आत्महत्या गर्नलाग्दा पनि मानवताको जिम्मेवारीले कहिल्यै छोड्न नसकेको देख्दा हामी सबैको मन ज्यादै कुडिँदै थियो । हामी सबैको भएभरको सहानुभूति टीभी तर्फ खनिएको खन्यै थियो । परिस्थितिले उच्छिट्याइएकी नारी, आफू सहाराहिन भएर पनि अरूलाई सहारा दिनुपर्ने जिम्मेवारीबाट पन्छिन कहिल्यै नसक्नेगरी मानवताले बाँधिएकी नायिकालाई हेर्दै हामी भित्रबाटै पग्लिँदै थियौं , द्रविभूत हुँदै थियौं , आँखाबाट झर्नझर्न आँटेका थियौं । अचानक बिजुली झ्याप्पै गयो ।

आ...... कस्तो यो लोडशेडिङ पनि !!


हामी पग्लिँदै गरेका मोम, राँक्किएको फलाम भयौं । विद्युत प्राधिकरण, नेता, पार्टी र देशै समेतलाई गालिगर्न थाल्यौं । विकास र उन्नतिले भावनाका गहिराइ समेतलाई छुँदो रहेछ । कहाँको कटिपतंग कहाँ पुगेर नेता, पार्टी र देशमा पुगेर हामी हाम्रो भावनालाई उरेल्दै थियौं । गन्गनाउँदा गन्गनाउँदै अबेर साँझ भइसकेको थियो । सदा झैं जुनकिरी बेलुकी गफ गर्न आई । फेरि बिजुली नआइन्जेलसम्म इमरजेन्सी लाइट बालेर समय काट्न निकै गाह्रो भइरहेको बेला उसको गफ सुनेर समय काट्न मलाई धेरै फाइदा जनक लाग्यो ।

‘ यहाँ पनि साधु गाउँका मान्छेहरू रहेछन् नि ’ जुनकिरीको गफ सुरु भयो । 

अँ, पूर्वेलीहरू धेरै रहेछौं हौ यहाँ । साथीभाइ, नातागोता हुँदैहुँदै त्यसरी नै त जमघट हुँदै जान्छ नि 

मेरो ध्यान एउटा कुद्दै गरेको साङ्ले किरोमा पर्यो । हेर्दा हेर्दै मेरो छेउको बिजुली सकेटभित्र पस्यो । यस्ता किराहरूले धेरै स्वीचहरू बिगारेर प्लग कामै नलाग्ने बनाएका छन् । म प्लगको प्वाल नजिकै इमरजेन्सी लाइटले हेरें । साङ्लेले जुँगा सकेटको प्वाल बाहिर लिकालिरहेको थियो । मेरो पालो साङ्लेको जुँगा च्याप्पै समातेर झ्वाट्टै तानेको त, के को...? केही काम दिएन । जुँगामात्र उखेलियो तर साङ्ले सकेटभित्रै हरायो । मैले केही गर्न सकिन ।

अँ, साधु गाउँको को भेट्यौ अरे ? मैले प्रसङ्ग जोडें ।

‘त्यै नेप्टेका सन्तानहरू !!’ रिसको तोडले निधार र नाक खुम्चेर झन्नै एकैठाउँ भयो जुनकिरीको ।
 ‘फुट्टेको आँखाले‘नि हेर्न सक्तिन म त तिनेर्लाई’

किन त्यसो भन्छ्यौ हौ, जुनकिरी ? क्रोधी हुनु राम्रो हैन त !!


‘अँ, मेरो ठाउँमा तिमी भए सिद्धै काट्ने थियौ, बुझ्यौ ?’

मैले मेरो पुराण बन्द गर्ने निश्चय गरें । जुनकिरी बोल्दै गई, बल्दै गई–

हामी पहाडबाट साधु गाउँमा झर्दा त्यस गाउँमा टिनका छाना भएका घरहरू थोरैमात्र थिए । बाँकी धेरै जसो घरहरू फुसको छानाका थिए । खेती किसानीहरू नै धेरै थियौं । आय स्रोत अलि बढी हुनेहरूले खेतीका साथै व्यापार पनि गर्थे । गाउँमा खेतीपाती गर्नेहरू बिचमा आपसी मित्रता गाढा हुने रहेछ, व्यापार भन्दा पनि । कहिले कसैको मा पर्म खेल्न जानुपर्ने, कैले कसैकोमा । रोपाइँको बेलामा जनको अभाव हुँदा समयमै रोपाइँ नसक्ला भन्ने डर , असार साउनमा रोपाइँ नसके पछि मङ्सिरमा भोकै हुने डर । त्यसैले असार साउनका बेला खुबै सघाउपघाउ हुन्थ्यो ।

हाम्रो आफनो बाली खेती थिएन । आफन्तहरूकहाँ व्याज मरौनी लगाएका थियौं । अलिकति अरू गाउँमा सामान्य सघाउपघाउबाट अनाज मिल्थ्यो । कसरी वर्षभरि खान्थ्यौं पत्तै हुँदैन थियो । आमाले हामीलाई कसरी मिठो मसिनो खुवाउँथिन् होलिन् ? सम्झेर ल्याउँदा आजभोली डरले छाती फुल्न थाल्छ । बिना आयस्रोत कसरी त्यतिका वर्षहरू बिते होलान ! अलिअलि थाहा छ, आफन्तहरूले कहिलेकहीं सापटी दिन्थे । पाँच छ महिना पछि आमासँग केही खरो कुराकानी हुने गर्थे । शायद लेनदेन कै बारेमा त होला नि ।

गरिब हुनु अभिशाप रहेछ । मन ठुलो र सहयोगी भएता पनि त्यसको अर्थ नकरात्मक हुनेरहेछ । त्यसमा पनि छोरीमान्छे हुनु अनि फेरि भर्भराउँदो जवानी अवस्थामा रहनु । मान्छे भएर समाजमा जिउनु कति गाह्रो रहेछ । 

पल्लो गाउँको चस्मे टोलमा एउटा हजाम परिवार बस्थ्यो । दुइटी छोरीहरू थिए । ठुली चाहिं सत्र–अठार पुगेकी । छोराहरू दुइजना थिए । एउटाको विवाह भइसकेको, अर्को पनि ठुलै हो । तिनीहरू निकै रिसाहा र कडा मिजासका थिए । 

एकदिन हजामकी ठुली छोरी ब्राहमण परिवारको एउटा केटाले भगाएर लगेछ । पछि परिवारले थाहा पाएपछि तल्लो जातको भने र घरमा भित्र्याउन दिएनछ केटाको परिवारले । भर्खर प्रेम मात्र गर्न जानेका ती दुई जोडीले सामाजिक चुनौती कसरी सामना गर्ने भन्ने के थाहा विचरा !!
 फिल्म हेरेको भन्दा जीवन भोगेको फरक हुने रहेछ भन्ने कुरा थाहा पाउँदावर्दा निकै ठुलो चुनौती आइसकेको थियो उनीहरूको लागि । 

एक हप्तापछि केटाको बाबुले हजामकी छोरीलाई हजाम परिवारमा दाखिला गराउँदै भने,

‘आफनो छोरी समाल है, जगरामे । ’ जगरामका दुईभाइ छोराहरू बाघ झैं गर्जिन थाले –

‘हामी किन समाल्ने ? तपाईको छोराले लगेपछि तपाईहरूले नै समाल्नु परेन ? ’

‘हेर केटा हो, ठुला मान्छे बोलिरहँदा तिमीहरू बिचमा त्यसरी विचार नपुर्याइ नबोल त ।’ उनले सम्झाउँदै भने–
तिम्रो छोरी र मेरो छोरो सँगै मिलेर फिलिम हेर्न गका रहेछन् । घर फर्किन अबेर भएर उसकी फुपूकोमा बुधबार बसेछन् । र छोरी चैं डरले घर फर्किन नमानेर, इ मैले सँगै लिएर आउँदै छु । कुरा बिग्रेको छैन । छोरी जिम्मा लेऊ, जगराम ’

हजाम परिवार एकैचोटि आºनी छोरी तर्फ खनिए –
‘ल भन् चण्डालनी !!
 तँ त्यससँग गएकी होस् कि हैनस् ?’ छोरी बोल्न सकिन । बोल्नुपर्ने कुरै पनि थिएन । ऊ गएकी नै थिई । चस्मेटोल सबैतिर हजामकी छोरी पोइल गई भनेर हल्ला फिजिसकेको थियो । हजाम परिवारले पारिवारिक लाजलाई भित्रभित्रै दबाउने विचार गरे । छोरीलाई खूब गाली गरे, कुटे अनि अन्त्यमा त्यस केटासँग नपठाउने नै निर्णय गरे । 

तीन महिना पछि, हजाम परिवार फुल्वाडिया तिर बसाइँ सरेर गए । अर्काे तीन महिनामा जगरामले आफनो जग्गाजमिन सबै बेचेर सदाको लागि चस्मेटोल छोडेर सपरिवार गए । 

अरूको के कुरा ? मेरो पनि त्यस्ता नमिठा अनुभवहरू छन् । एकपल्ट होली पर्वको बेला, सबैजना गाउँका युवा–युवतीहरू रङ् हानाहान गर्दै मलाई पनि रङ् दल्न आए । म भागेर आफूलाई लुकाउन चाहन्थे, त्यसैले कोठाभित्र पसेर आफैंलाई बचाउन चाहन्थे । तर, ढोका थुन्न भ्याउँदा नभ्याउँदै अर्जुन आएर मलाई रङ् दल्ने बहानामा मप्रति नराम्रो व्यवहार गर्यो । बचाउमा मैले माटाको गाग्री समेत फुटाएछु । अर्जुन मुसुमुसु हाँस्दै बाहिरियो । म कोठाभित्रै रुँदै बसें । बेलुकी आमा आएपछि गाग्री फुटाएको अपराधमा मैले बेस्सरी पिटाइ खाएँ । 

होलीको घटना पछि अर्जुनले त्यस्तै अवसरहरूको खोजी खूब गरिरहयो । म मेरा अरू साथीहरूको साथमा प्राय रहने गरेको हुनाले कसले के चिताउँथे केही थाहा हुँदैन थियो । आफू होसियारी रहँदा मात्र दुर्घटनाबाट कहाँ बाँच्न सकिँदो रहेछ र !!
 समाजमा सबैले समान रूपमा नियमको पालना कहाँ गर्दारहेछन् र !!
 आफू भलो त जगत भलो भन्दै हिँड्नेहरू नै अरूको कामको प्रतिफल भोग्दै गरेको देखेको छु । मानव व्यवहार त्यति सरल कहाँ हुने रहेछ र !!


हिउँदोको बेला थियो । साँझ बाक्लिँदै जाँदैथियो । बुर्चीले मलाई खोज्दै आई ।
‘जुनकिरी, हिँड न त्यो सिरिसे चौतारीमा एकैछिन, जाम्न ’
‘ अँ हँ , घरमा बा–आमा पनि आईपुग्नु भा‘छैन । जान्न है म त ’

यो समय खेल्ने उफ्रिने समय थिएन भन्ने कुरा मैले मेरो गरिबी र घरेलु जिम्मेवारीबाट प्रशस्तै सिकिसकेकी थिएँ । 
‘जाम्न हौ जाम् । एकैछिन क्या !!
’ बुर्ची आफ्नो अडानमा जमिरही । 
मेरो जवानी अवस्थामा सुरक्षाको महसुस यिनै साथीहरूले गराउँथे मलाई । यिनीहरूसँगै धेरै समय बिताएकी थिएँ मैले । डोरी नाघ्ने, आसपास, पाँचगट्टी यस्तै धेरै खेलहरू खेल्थें । 

एकछिन पछि म बुर्चीको पछि लागेर सिरिसे चौतारी पुगें । मान्छेको अनुहार ठम्याउन नसक्नेगरी साँझ बाक्लिसकेको थियो । 

‘ एकैछिन है, म आइहालें ’ 
बुर्ची मलाई चौतारीमा राखिछाडेर हराई । निकै बेर भएपछि मैले बुर्चीलाई बोलाएँ, तर ऊ आइन । एकछिन पछि अलि परबाट अर्जुन आएर चौतारीमा बस्यो । त्यतिन्जेलसम्म मलाई केही हुन्छ जस्तो लाग्दै लागेन । ऊ मेरै नजिक आएर बस्यो । मलाई निकै अप्ठेरो लाग्यो, तर मैले केही पनि भनिनँ । अझै बुर्ची कै पर्खाइमा थिएँ । 
‘बुर्ची, ए बुर्ची !!
’ मैले मेरो स्वर चर्को पारें । 
‘बुर्ची आउदिन, गइसकी ’ अर्जुन बोल्यो । 
‘किन र ? एकैछिनमा पो आउछु भनेर गकि त ’ मेरो आश्चर्य बढ्दो थियो । त्यसमा क्रोध पनि मिसिँदै गयो । 
‘मैले नै तलाइँ यहाँ ल्याउनु भनेर त्यसलाई भनेको थिएँ । त्यसले त आºनो काम सकिकी । अब हामी दुई हाम्रो काम गरौं ’
पछाडिबाट नेप्टेलाई पनि तयार गरिसकेको रहेछ उसले । उसले आºनो षडयन्त्रको भूमिका निभाउँदै चर्केा स्वरमा करायो –
‘के रे ? कस्तो काम रे ? तिमेरू याँ चौतारीमा राती राती तिमेरू मात्तै के काम गर्ने रे ?’

नेप्टेले एकैछिनमा सारा गाउँभरि हल्ला फिजायो । गाउँलेहरू हातमा डण्डा लिएर हामीलाई कारवाही गर्न आए । म साह्रै नै डराएँ । त्यहाँबाट म दौडेर सुरेसहरूको ट्वाइलेटमा पसें र भित्रबाट चुक्कुल थुनेर धेरै बेर बसिरहें । म सुन्दैथिएँ – सबै गाउँलेहरू रिसाउँदै थिए । पात्तर पात्तर्नीहरू !!
 लाज सरम छैन !!


नेप्टे आफ्नो भूमिकामा सफल भइसकेको थियो । मैले आफूले केही बिराएकी थिइन । म अर्जुन र नेप्टेको षडयन्त्रमा फसिसकेकी थिएँ । धेरैबेर पछि मात्र यो कुरा मैले बुझेँ । त्यति बेलासम्म बुबा चाहिं हातमा खुकुरी लिएर मलाई काटीमार्न निस्किसकेका थिए । मैले उहाँको सामु गएर सबै कुरा बताउन आँट पनि गर्न सकिन । नेप्टेले विष घोलिसकेको थियो । म सुरेशको ट्वाइलेटभित्रबाट सुन्दैथिएँ । बुबा रिसले आगो हुनुभएको थियो –

‘त्यसलाई म आज तीन टुक्रा बनाउन सकिनँ भने मेरो बाउको छोरै हैन !! त्यसलाई घरमा छिर्नदिन्न !! एई काँ छ हाँ त्यो बेस्या !! याँ आइज !!’ 

बुवाको स्वर क्रोधले कामिरहेको थियो । म उनको अघि परेकी भए जे पनि हुन सक्थ्यो । म ट्वाइलेट भित्रै बस्ने निर्णय गरें । त्यसबेला मलाई एउटै कुरा मात्र थाहा थियो कि म निर्दोष थिएँ । अहिले म कुरा बुझ्
ने भएकी छु । अन्यायको पनि ठुलै शक्ति हुने रहेछ । षडयन्त्रद्वारा पनि मानिसले आफनो इच्छा पुरा गरेरै छाडदो रहेछ । इच्छाको अघि के न्याय के अन्याय !
 हिंसा र युद्धले मानिसहरूबाटै वैधता प्राप्त गर्दो रहेछ । 

करिब एक घन्टा पछि म ट्वाइलेटको ढोका खोलेर निस्कें । मनमा एक तमासको भय र अनिर्णयले छोपेको थियो । म घर गएँ भने बुवाले काटेर मार्नु हुन्छ भन्ने लाग्यो । त्यसैले म घर नजाने भएँ । 

‘हिँड मसित, जुनकिरी !
’ अर्जुन मेरो छेउमा आएर भन्यो । मैले अरू विकल्प देखिनँ । त्यसपछि अर्जुनले मलाई बिर्खेको कोठामा लग्यो । उनीहरू दुईजना रातभरि तास खेलेर गफिँदै बसे । म उतापटि घाटमा ढल्की बसेँ । निदाउनँ सकिन । त्यो रात त्यसरी नै बित्यो । 

भोलिपल्ट अर्जुनले मलाई उसको घरमा लग्यो । उसको परिवारले मलाई अजातको भनेर स्वीकार गर्न मानेन । तर मलाई भगाइल्याएको हुनाले भित्र्याउन त पथ्र्यो नै । त्यसैले मैले बस्न पाउने चाहिं भएँ । तर मैले पकाएको चाहिं उसको आमा बाबुले खाँदैनथे । 

म दिलोज्यानले काम गर्थें । त्यसो गर्दा मेरा सासु ससुरा खुशी हुन्थे कि भन्ने मिठो आसा सजाउने गर्थें । मान्छे मन नपरेपछि उसको काम पनि मन पर्दो नहुँदो रहेछ भन्ने कुरा त्यतिबेला बुझ्िदनँ थिएँ । दुई वर्षसम्म पनि मलाई दुलहीको रूपमा अन्माएर बुहारी स्वीकार गरेनन् । त्यस बिचमा अर्जुन बाहिर बाहिर हिँडिबस्थ्यो । घरमा बेलुकी मात्र आउँथ्यो । अनि बिहानै घरबाट बाहिर निस्किन्थ्यो । म बिरामी भइरहन्थें । त्यसबेला म दबाइपानी भन्दा गाली सराप धेरै खान्थें । 

म बिरामी थिएँ । एकदिन बुर्ची मलाई भेट्न आई । सिरिसे चौतारीको त्यस घटना पछि म त्यसको अनुहार हेर्न मन पराउँदिनथें । तर अभर पर्दा सत्रुले पनि मन फिराइदिए हुन्थ्यो कि भन्ने आशा चाहिं रहिरहँदो रहेछ । मैले बुर्चीलाई मेरो माइती घरको हालखबर सोधें । उसले भनी –
‘तेरी आमा रुँदै थिई, जुनकिरी !!’ 
मैले कल्पना गरें– आमाको आँसुले बाटो बिराउने नानीलाई फेरि फर्काइल्याउँदो रहेछ । आमाबाबुले छोराछोरीलाई भलाइ गरेको प्रस्टै देखिने घटनाहरू नभए पनि उनीहरू भला हुन्छन् भन्ने कुरा छोराछोरीले बुझ्छन् । विश्वास नदेखिने कुराको प्रमाण रहेछ । 

मैले मेरा बाआमालाई मेरो निर्दोषीपनको बारेमा बताए पनि म फेरि पहिले जस्तै बन्न नसक्ने परिस्थितिमा पुगिसकेकी थिएँ । तर मन चाहिं भारी भइरहन्थ्यो, आफनो कुरा राख्न नपाउँदा । जसले मेरो वास्तविकता जान्दथ्यो ती त मेरा सत्रु झैं थिए । मलाई परिबन्धमा पारिएको थियो । झुक्काएर अर्जुनले मलाई आफनो बनाईछाड्यो । स्साला त्यो नेप्टे !! त्यसको त म छाती फुटाऊँ जस्तो लाग्छ । 

जुनकिरी बिरामी छ रे भन्देना ल, बुर्ची 
मैले आफैंलाई पुरानो अवस्थामा लैजाने विचार गरें । बुर्चीका आँखाहरू झुकेका थिए । उसले केवल ‘हुन्छ’ भनी र त्यो खबर आमाकहाँ पुर्याई । त्यसपछि आमा आएर अर्जुनको परिवारलाई नानाथरी गाली गरेर मेरो हात ट्याप्पै समातेर भनिन्–
‘हिड् , पातर्नी ! अब देखिस् हैन ? रातीराती भागेर रल्लेकी थिइस् नि !’

आमाले मलाई एक चड्कन लगाउनु भयो । उहाँ अन्जान हुनुहुन्थ्यो । मलाई कसरी परिबन्धमा पारियो त्यो उहाँलाई थाहा थिएन । मैले केही पनि भनिन । आमाको थप्पडले मलाई उहाँप्रति झनै नजिक बनाइरहेको थियो । म माइत जाँदैथिएँ । 

……————————————————————————————
हामी गफमा मस्त थियौं । पछाडि अँध्यारोमा पछाडि एउटा आवाज आयो –

‘जुनकिरी दिदी !!
 जुनकिरी दिदी !!

‘ल ल, म आइहालें । ’ जुनकिरी अाफना कथालाई अधुरै राखेर जानुपर्दा खुशी थिइन, 

‘यो केटाकेटीहरूलाई पनि होमवर्क गर्न मैले नै सिकाउनु पर्ने रे ! यिनीहरूलाई त खै के पो गर्नु हौ ? ’

उसले आफनो कथा अधुरै राखेर चम्पासँग होस्टेलतिर लागी । ऊ गर्ल–होस्टेलमा नानीहरूलाई रेखदेख गर्थी । भोलिपल्ट आएर उसले आफनो कथालाई निरन्तरता देला भन्ने मेरो आशा थियो, तर त्यसो भएन । अर्को एकदिन बित्यो । हप्तादिन बित्यो । साँझ साँझ आउने जुनकिरी अब आउन छाडी ।

केही दिन पछि बोझिलो मन लिएर म होस्टेलतिर गएँ । बार्दलीमा चम्पालाई देखेर खुशी लाग्यो । ऊ बढारकुढार गर्दै थिई । तल आँगनमा मानिसहरूको भीडभाड थियो । म भित्रभित्रै डराइराखेको थिएँ । नजिकै पुगेर बुझें– प्रहरीहरू कानुनी प्रकृयाको निम्ति आएका रहेछन् । जनुकिरीलाई अघिल्लो दिन नै जेल लगिसकिएको रहेछ । उनीहरू केवल थप कानुनी प्रकृयाको लागि मात्र त्यहाँ आएका रहेछन् । मैले प्रहरीबाट बुझ्
दा थाहा पाएँ – उसलाई कर्तब्य ज्यानको मुद्दामा २० वर्षको कैदको सँजाय तोकिसकिएको रहेछ । 

भोलिपल्ट म नक्खु जेलमा गएँ । बादीतर्फका मानिसहरू निकै हल्लखल्ल गरिरहेका थिए । उनीहरू धेरै जसो लेटाङबाट आएका रहेछन् । अभियुक्तका तर्फबाट पनि साधुगाउँका केही आइमाईहरू आएका थिए । जुनकिरीका आफन्तहरूले सम्झाउँदै थिए –
‘ हैन, तेरो त पोइ पो त, जुनकिरी ! के बुद्धि बिग्रेर त्यसरी हँसियाले ठुँगीमारिस् त हौ, रामेलाई ?’

जुनकिरी अवाक् रही । आफूले घरगृहस्थीमा दिलोज्यानले निस्वार्थ भई सेवा गरेको कुराको यहाँ यस अवस्थामा केही महत्व थिएन । जुनकिरीले दिन सेवामा बिताउँथी रात चाहिँ प्रश्न, वेदना र भयमा । उसको निम्ति घाम कहिल्यै नअस्ताउनेगरी सदा स्थिर भए हुन्थ्यो जस्तो लागिरहन्थ्यो । 

‘ हैन हौ, तेरी आमाले नै रामेसँग बिहे गरिदिएको हैन र भनेको ?’ आफन्तहरूको चित्तै बुझेको थिएन ।

जुनकिरी सुँकसुकाउन थाली । सुँकसुकाउदा सुँकसुकाउदै डाँको छोडेर रुन थाली । वेदनाले निकास नपाउँदा डाँको छोडेर रुँदा पनि अपुग हुँदो रहेछ ।

‘हूँ.... हूँ......हूँ.... हूँ...... जसले ब....लत्....कार गर्यो .......त....त्यै सँग बि....हे गर्नुपर्ने रे.... हूँ.... हूँ......हूँ.... हूँ...... दुई वर्ष........सम्म द..दु...ई वर्ष स...सम्.......म... मैले त्....त्यस घरमा घोटिएँ सेवा गरें ..... आखिरमा मैले के पाएँ ? हूँ.... हूँ......हूँ....!!’ जुनकिरी भित्तातर्फ फर्केर रोई । रोई रही ।

जेलबाट फर्केर आउँदा साँझ पर्नै लागेको थियो । बाटोमा एउटा चङ्गा धुजाधुजा भएर बिजुलीको तारमा अल्झिरहेको थियो । हिँड्दा हिँड्दै झमक्कै रात पर्यो । लोडशेडिङको कारणले रात झनै कालो देखिन्थ्यो । मैले जुनकिरीहरू देखिन्छ कि भनेर राम्ररी हेरें– केवल चुक घोप्टेको कालो रात बाक्लिँदै जाँदै थियो । जुनकिरीलाई रात मनपर्न छोडेको थियो । जुनकिरी बिनाको कालो रात कति निरस र विकराल, नर्क जस्तो । 

म घरभित्र पस्दा ढोकामा ठोक्किएर झन्नै लडें । 

त्यही रात साधु गाउँमा विवाहको एउटा अर्कै रमझम रहेछ । 

हुई........ नारानघाटैमा
कति चाँडो माया बस्यो एकै रातैमा ।

सालघारीमा सालको बोट फुलबारीमा फुलको 

देख्दैखेरी तिम्रो मुहार मेटिजाने झल्को ।।

हुई........ नारानघाटैमा
कति चाँडो माया बस्यो एकै रातैमा ।

अर्जुन, नेप्टे र गाउँका अरू केटाहरू हातमा बोतल लिएर खूब नाच्दै थिए । रातको चकमन्नतालाई उनीहरूको रमझमले चिर्दै लगेको थियो । अर्जुन हातमा बोतल लिएर कम्मर मर्काउँदै बिचमा नाच्न थाल्यो तर ढल्यो । ऊ फेरि लर्खराउँदै उठ्यो,

हुई........ नारानघाटैमा
कति चाँडो माया बस्यो एकै रातैमा ।


‘ स्स.... स्याला त्यो रामे !! मैले बाँझो फोरेको खेतमा आफनो बिउ पनि छर्न नभ्याई मर्यो !!
 स्स.... स्याला त्यो अभागी रैछ मोरो........। हुई........ नारानघाटैमा ......। आ.....फू.... त किसानको छो.....रो.... बेस्.........सरी बाँ....झो फोरिन्छ । बाँझो खेत जोत्दा.........रगत ....बगेको देखेका छौ....अई.......केटा हो....!!
 हुई........ नारान.....घाटै......मा ...... ’

अर्जुन एकैछिन लर्खराउँदै ड्याम्मै ढल्यो । अरू केटाहरूको हाँसो गुँजियो–

‘ हा हा... हा..... बाँझो जोत्यो है किसानको छोरोले !! ’ 


अर्जुनको नाकबाट रगत बगिरहेको थियो, तर रात ज्यादा गाढा भएकोले केटाहरूले थाहा पाएनन् ।