बुद्धिचाल खेलाडीको बुद्धि
साहित्यमा भावना मात्रै हुँदैन तर देश काल, परिस्थिति र इतिहास पनि हुन्छ । भावनाद्वारा मात्र रङ्गिएका साहित्य यथार्थपरक हुँदैनन् तथापि घटनाको बारेमा समाचार लेख्नु र त्यही घटनालाई आधार मानेर एउटा कथा कथ्नुमा धेरै अन्तर हुन्छ । परिश्रम दुबै प्रयासमा हुन्छ, तर एउटा सूचना हो भने अर्को चाहिँ कला हो । जीवनलाई दुबै कुरा चाहिन्छ । नयाँ नयाँ सूचनाले भरिएको जीवन हरेक समय सान्दर्भिक बनिरहन्छ, भने सीमित जीवनले पाउन नसकेको इच्छा कलाबाट प्राप्त गर्न सकिन्छ । यस मानेमा कला जीवनको परिपूरक हो । यसको आफ्नै धर्म छ । यसले आफ्नै तरीकाले मानव जीवनको हित गर्छ ।
घटना अनुभव र विवेकको समिश्रणबाट जीवन बन्छ । यस्तो जीवनले आफू सुहाउँदो अभिव्यक्तिको खोजी गर्छ । अभिव्यक्त नभएको जीवनले अभिव्यक्तिको माध्यम चाहन्छ । सूचनाले सेवा पुर्याउन नसक्ने जानकारीहरू पनि प्रशस्तै हुन्छन् मानव ह्दयमा । नभए, किन निधारमा विजयको टिका थाप्दा मनमा चाहिँ झर्ना फुटेर वगेको जस्तो भएको होला ? कानले तारिफ सुन्दा, किन आँखाहरू तारा झैं चम्किला भएका होलान् ?
एउटा परिपक्व मन र दिमागले सिर्जेको साहित्यको निर्दिष्ट उद्देश्य हुन्छ । एउटा घटनालाई विस्तार गरेर अर्को युगसम्म प्रसारण गरेर सार्ने क्षमता मानव विवेकमा मात्र हुन्छ । यसको निम्ति साहित्य र कला एउटा सुन्दर माध्यम हो । आफ्नो युगको आवाजलाई हामी र हामीभन्दा पनि परसम्म बोकेर लैजान सक्ने एक नामुद साहित्यकारको नाम हो– मुन्सी प्रेमचन्द । उनको जन्म सन् १८८० जुलाइ ३१ मा भारतको वनारस सहरबाट चार माइल दुरीमा रहेको लमही गाउँमा भएको थियो । उनको खास नाम चाहिँ धनपत राय थियो । उनले नवाब रायको नामद्वारा विभिन्न लेख रचनाहरू प्रकाशन गर्थे । सन् १९१० मा उनको कृति ‘सोज–ए–वतन’ लाई भारतीय बृटिश शासकहरूले जलाइदिए पछि उनले प्रेमचन्दको छद्म नामले आफ्नो कलम चलाउन थाले । उनले उर्दू र हिन्दी भाषामा आफ्नो साहित्यको गहिरो छाप छाडेका छन् । उनका उपन्यासहरूमा प्रेमा, गोदान, रङ्गभूमि, निर्मला, गबन, सेवासदन इत्यादि रहेका छन् । उनका कथाहरूमा, ईदगाह, कफन पंचपरमेश्वर, नमकका दारोगा, शतरंजके खिलाडी, सद्गति आदि सुप्रसिद्ध छन् । भारत स्वतन्त्रता आन्दोलन ताका महात्मा गांधीको विचारबाट उनी निकै प्रभावित थिए । उनले आफ्ना विचारहरूलाई जमाना नामक उर्दू भाषाको पत्रिकामा पङ्कतिकारको रूपमा छपाइरहन्थे ।
लेखनमा समाज र देशप्रतिको उद्देश्य झल्कन थाले पछि त्यो लेखन परिपक्वता तर्फ उन्मुख हुन थाल्छ । उद्देश्यमा परिपक्वता बोक्ने साहित्यले नयाँ पिँढीका लेखकहरूको लागि अविभावकपनको स्तरियता बोक्न थाल्छ । यस्तो अविभावकपनमा कला शिल्प र युग चेतना अन्तर्निहित हुनु आवश्यक पर्छ । प्रेमचन्दका कथाहरूमा मानिसलाई स्वतन्त्र हुनबाट रोक्न सक्ने मनोवैज्ञानिक चरित्रहरू देख्न सकिन्छ । उनीभन्दा पहिले हिन्दी कथाहरूमा चामात्कारिक घटनाहरूको विवरण पाइन्थ्यो । उनले कथाका चामात्कारिक घटनाहरूलाई मानव चरित्रमा रुपान्तर गरे । साहित्यले समेत देशको स्वतन्त्रतामा योगदान पुर्याओस् भन्ने उनको ध्यय रहेको थियो ।
उनले लेखेका प्रसिद्ध कथाहरूमध्ये शतरंजके खिलाडी एक हो, जसलाई श्याम प्रधानले बुद्धिचालका खेलाडी भनी नेपालीमा अनुवाद गरेका छन् । यस लेखको उद्देश्य त्यही कथालाई विश्लेषण गर्नु रहेको छ । तर, त्यसो गर्नुभन्दा पहिले बुद्धिचालसम्बन्धी म आफैंले देखे भोगेका अनुभवहरू यहाँ राख्न अनुमति चाहन्छु, ताकि मेरो विश्लेषण अलिकति भएपनि व्यवहारिक एवम् जीवन्त बनोस् ।
कुनै समय धरानमा मण्डलीका अगुवाहरू चेस खेल्नमा घन्टौंघन्टा बिताउने गर्थे । चेस खेल्दा बुद्धि बढ्छ भन्दै यसको महिमा गाउँथे । बाजी जति हारियो उत्ति नै जोस बढ्छ भन्ने कति खेलाडीहरूको भनाइ पनि सुनेको थिएँ । पथरी चोकमा पनि चिया पसलमा बसेर दिनहुँ चेस खेल्नेहरू निकै देखेको थिएँ । एकजना भाइले भन्ने गथ्र्यो– ‘मेरो त आँखै तिर्मिराएर जताततै कालो–सेतो कालो–सेतो साना साना कोठाहरू मात्रै देख्छु त हौ !’ अर्को एकजना भाइ थियो जसले आपसमा बाजी जित्दा पालाम र ख्याली खुब भन्ने गथ्र्यो–
‘कावेली यङ्घङ् माछा टिप्छ
हजुरको कुरा आच्छा ठिक छ’
तर भाइले बाजी हार्दै गएपछि आफ्नो अनुहार पाक्न लागेको गोल्भेडा जस्तै बनाएर दर्शकहरू समेतलाई गालिगर्न थाल्थ्यो । क्यारेम खेल्नेहरूले पनि बाजी जितेको बेला विजयध्वनि कसरी निकाल्छन् भन्ने अनुभव पनि मनमा सजाएर राखेको छु, तर अहिलेको हाम्रो प्रसङ्ग चाहिँ बुद्धिचालसँग रहेको छ । बुद्धिचाल खेलको गोटीहरूको नाम पनि खेलाडीहरूले आफ्ना समय र स्थान अनुसार राख्दा रहेछन् । राजा, रानी (कसैले त्यसैलाई मन्त्री पनि भन्छन् ), क्यासल, जसलाई हात्ती पनि भनिन्छ । त्यसपछि, महारथी जसलाई खेलाडीहरूले घोडा पनि भन्छन् । त्यसपछि, विशप, जसलाई क्यामल वा ऊँट वा कतिले त कुमार पनि पो भन्दा रहेछन् । अनि त्यसपछि बाँकी ८ वटा सिपाहीहरू, जसलाई खेलाडीहरूले प्युसा भन्छन् ।
हाम्रो फुर्सदिलो समय, वर्तमान र भविष्यसम्बन्धी हाम्रो चेतना अनि हाम्रो सीमित जीवनले तोक्नुपर्ने महत्वपूर्ण विषयहरू बिच कस्तो तालमेल हुनुपर्छ होला ? यस प्रश्नलाई मनमा राखेर हामी अब प्रेमचन्दको शतरंजके खिलाडी तर्फ लागौं है त † कथा यसरी सुरु हुन्छ –
वाजिद अली शाहको समय थियो । लखनउ विलासिताको रङ्गमा डुबेको थियो । साना–ठूला, धनी–गरिब सबै विलासितामा डुबेका थिए । कोही नागानमा डुब्थे भने कोही अफिमले लट्ठिनमै मज्जा मान्थे । जीवनको हरेक क्षणमा आमोद–प्रमोदको प्राधान्य थियो । शासन विभाग, साहित्य क्षेत्र, सामाजिक व्यवस्था, काला–कौशल, उद्योगधन्दा, आहार व्यवहारमा सर्वत्र विलासिता व्याप्त हुँदै थियो । कर्मचारी विषय–वासनामा, कविगण प्रेम र विरहको वर्णनमा कालिगड कलाप्रदर्शन र बुट्टा भर्नमा, व्यवसायी गाजल, अत्तर जस्ता सौन्दर्य–प्रसाधनको रोजगारी गर्नमा लिप्त थिए । सबैका आँखामा विलासिताको मादकता भरिएको थियो । संसारमा के हुँदै छ, कसैलाई कुनै चासो थिएन । बट्टाई जुधिरहेका छन् । तित्रा जुधाइका लागि बाजी ठोकिँदै छ । कहीँ पासा फिँजाइएको छ । माराऽ....को हल्ला फैलिइरहेको छ । राजदेखि रङ्कसम्म यही धुनमा मस्त थिए । यहाँसम्म कि पैसा पाएपछि माग्ने पनि रोटीको सट्टा अफिम आदि तान्थे । बुद्धिचाल, तास, कौडा खेल्नाले बुद्धि तीक्ष्ण हुन्छ, विचारशक्ति विकास हुन्छ, जटिल समस्या समाधान गर्न सक्ने बानी बस्छ– बलपूर्वक यस्ता कर्तहरू अगाडि राखिन्थे । (बुद्धिचालका खेलाडी. पाना नं ६५)
साहित्य कल्पनाशील हुन्छ, तर त्यसले प्रस्तुत गरेको प्रतीक चाहिँ सत्य हुन्छ । वाजिद अली शाह काल्पनिक नाम होइन, तर ऐतिहासिक तथ्य हो । आख्यान भएपनि लेखनलाई ऐतिहासिक समय र प्रतीकसँग जोडेर सुरुगर्दा त्यसको गहकिलोपन सदा स्थिर रहन्छ । तर, तथ्य ऐतिहासिक हून् वा साँस्कृतिक वा वैज्ञानिक नै किन नहून्, सान्दर्भिकता मिलेन भने कुनै पनि सत्यले काम गर्दैन । त्यसैले सबै सत्यले सबै मानिसलाई सबै समयमा काम गर्छ भन्ने छैन, तर पनि त्यसलाई मूल्यवान सम्झेर जतन चाहिँ गर्नुपर्छ । जस्तो, मान्छेको एक मुख र दुईवटा कान हुन्छ । यो जानेर कसलाई फाइदा हुन्छ र ! तर यही सत्यलाई, अरूको कुरा नसुन्ने तर आफ्नै मात्र कुरा अरूले सुनिदिओस् भन्न चाहने कुरौटे विद्वानलाई भनिदिनु भयो भने त्यसले औषधिको काम गर्छ । नभएपनि, कम्तिमा त्यसले डिस्कोर्समा प्रतिरोधात्मक काम चाहिँ गर्छ । स्मरण रहोस्, सत्य सामान्य लागेपनि कुनैकुनै बेला यो निक्कै तिक्खर र तीत्तो हुन्छ ।
जे कुरा जानिएको छ , खोजिबस्नु पर्दैन; सान्दर्भिक मात्रै बनाउनु पर्छ । जे जान्नै सकिँदैन, त्यसलाई खोज्न थालियो भने ओडारमा बस्ने साधु कि भने महात्मै बनिन्छ । जे जान्न आवश्यक छ र खोज्न पनि सकिन्छ ; त्यसको लागि प्रयत्न गरियो भने प्राज्ञिक भइन्छ । यस कथाको पृष्ठभूमि बुझ्नको लागि वाजिद अली शाहको बारेमा बुझ्न जरुरी छ । वाजिद अली शाह अवधका दशौं तथा अन्तिम शासक थिए, अर्थात् अन्तिम नवाब । उनको राज्यारोहण सन् १८४७ मा भएको थियो । लखनउ अवधको राजधानी थियो । केवल सन्धिद्वारा मात्र लखनउको वचावट भएको थियो, तर सन १८५६ मा अवध बृटिश सरकारको उपनिवेशमा गाभियो ।
यस कथाका प्रमुख दुई पात्रहरू छन्– मिर्जा सज्जाद अली र मीर रोसन अली । दुबैजना राजसी खानदानका लडाकु तथा धनी मानिसहरू थिए । दुबैसँग अथाह सम्पत्ति थियो , जीविकाको कुनै चिन्ता थिएन । घरमा बसेर नानाथरी गफ गरिरहन्थे । गर्न नै आखिर अरू के सक्थे र ? बिहानै दुवै मित्र जलपान सकेर बुद्धिचाल फिँजाएर बस्थे, गोटी सजिन्थे र लडाइँको दाउपेच हुन थाल्थ्यो । अनि कतिखेर मध्यान्ह भयो, कहिले दिउँसो र कतिखेर साँझ पर्यो, थाहै पाउँदैनथे ।
प्रेमचन्द कथाकार मात्र होइनन् अपितु सामाजिक घटनाका विश्लेषक पनि हुन् भन्ने कुरा कथाका बिचबिचमा उनले गरेका कटाक्ष टिप्पणीहरूले सावित गर्छन् । कथामा एकठाउँ यस्तो टिप्पणी देखिन्छ– श्रीमतीको त के कुरा, टोलवासी, घरका नोकर–चाकरसम्म सधैं द्वेषपूर्ण टीकाटिप्पणी गरिहन्थे – “बडो अलच्छिन खेल हो । घरलाई बरबादै पारिदिन्छ । भगवानले कसैलाई यसको लत नबसालिदिऊन् । मान्छे दीन–दुनियाँ कसैको काम लाग्दैन, न घरको न घाटको । नराम्रो रोग हो ।” अर्को एकठाउँमा यस्तो छ– “अब भलो हुनेछैन । हाम्रा धनीमानीहरूकै यो हाल भएपछि देशको त अल्लाहले नै रक्षा गरून् ।”
कथाकारले मिर्जा र मीर अलीको माध्यमबाट तत्कालिन समयमा भएका राजनैतिक चेतना–शून्य धनाढ्य व्यक्तिहरूको बारेमा चित्र कोरेका हुन् । मिर्जाकी रानीसाइबा खूब रिसाउँदै उनलाई झपार्थिन् – “यति ध्यान अल्लाहमा लगाएको भए गरिब हुन्थ्यौ ?” यो अभिव्यक्ति एक दरबारिया पात्रको हो । दरबारमा गरिबीको के गुन्जायस र ! साहित्यका पात्रहरूले आफ्ना समयभन्दा परका मानिसहरूका खातिर बोल्छन् , त्यसैले त उनीहरू आख्यानको दुनियाँमा सदा जीवित रहन्छन् । त्यस्तै किसिमका पात्रहरूलेमात्र सर्जकलाई अमर बनाइराख्छन् । अर्काे कुरा, गरिबी धनको अभावले मात्रै हुने होइन । सबभन्दा अनौठो कुरा चाहिँ मीर र मिर्जा साहेबको चेसका गोटीहरूप्रतिको तल्लीनता अनि तत्कालिन बृटिश साम्राज्यको औपनिवेशिक परिघटनाबिच स्थानीयरूपमा उपलब्ध मानव चेतनाले काम नगरेको देख्दा कथाकार वेचैन भएका हुन् । यही वेचैनीलाई युगयुगान्तर सम्म कलामा जीवित राख्न उनले कोसिस गरेका हुन् । उनले यसरी परिस्थितिलाई यथार्थरूपमा लेखेका छन – अङ्ग्रेजी कम्पनीको ऋण दिन–प्रतिदिन बढ्दै जान्थ्यो । सानो कम्बल दिनदिनै भिजेर गह्रौं हुँदै जान्थ्यो । देशको सुव्यवस्था नभएकोले वार्षिक कर पनि असुल हुँदैनथ्यो । रेजिडेन्ट बारम्बार चेतावनी दिन्थ्यो, तर यहाँ त मानिस विलासिताको नशाले चूर थिए, सबै कानमा तेल हालेर बसेका थिए ।
जे होस्, मीर साहेबको बैठककोठामा बुद्धिचाल जमेको निक्कै महिना भइसकेको थियो । (खेलमा) नयाँनयाँ समस्या समाधान गरिन्थे, नयाँनयाँ किल्ला बनाइन्थे, दिनहुँ नयाँ व्यूह रचना हुन्थ्यो, कहिलेकाहीँ खेल्दाखेल्दै भनाभन हुन्थ्यो । तँतँ–मम सम्मको अवस्था आउँथ्यो ।
उता देशको राजनीतिक अवस्था भयङ्कर हुँदै गइरहेको थियो । कम्पनीका फौजहरू लखनउतिर बढ्दै थिए । सहरमा हलचल मच्चिएको थियो मानिसहरू बालबच्चा च्यापी गाउँतिर भाग्दै थिए । तर हाम्रा दुबै खेलाडीहरूलाई यसको अलिकति पनि फिक्री थिएन (७०–७१) ।
वास्तविक दुनियाँमा घट्ने घटनाहरू घटना जस्तो पनि नलाग्नु अर्थात्
(Non-event) हुनु अनि अवास्तविक (खेलमा हुने) राजा, किल्ला, सिपाही र दाउपेचहरूले चाहिँ सम्पूर्ण रूपले ध्यान खिँच्नु नै कथाका दुई पात्रहरूले प्रस्तुत गरेका अनौठो असत् चेतना हो । यी दुई पात्रहरूले आफ्ना श्रीमतीहरूप्रति भ्रम मात्रै पालेका छैनन् परन्तु सम्पूर्ण अवधका नवाबलाई बन्दी बनाएर लगिएको सत्य पनि थाहा पाएका पनि छन् । तर चेतना अन्य कुराहरूले खिँचेको छ । कथाकारले लखनउको यस अवस्थालाई राजनीतिक अधोपतनको चरम सीमा भनेर टिप्पणी गरेका छन् । मीर र मिर्जाले तत्कालिन समयको सम्पूर्ण सहरकै मानव प्रवित्तिलाई प्रतिनिधित्व गरेका छन् । राजनीतिमा परतन्त्रलाई चुपचाप स्वीकार गर्नुलाई सबैभन्दा अशुभ सङ्केत मानिन्छ । कथामा यसका कारणहरूलाई भने खुलाइएका छैनन् तर अवधमा यस्तो अवस्थाको प्रतिकार गर्ने मानव प्रवित्तिको अभावलाई भने कथाकारले किला ठोकेर यसरी पाठकसामु राखिदिएका छन् :
नवाब वाजिद अली शाहलाई पक्राउ गरी सेनाले कुनै अज्ञात स्थलतिर लगिरहेको थियो । सहरमा न कुनै हलचल थियो, न कुनै मारकाट । एक थोपा पनि रगत बगेको थिएन । आजसम्म कुनै स्वाधीन देशका राजाको पराजय यति शान्तिसँग, यसरी रगत नबगाई भएको थिएन होला । यो अहिंसा होइन, जसमाथि देवगण प्रसन्न होऊन् । यो छेरुवापन थियो जसमा ठूल्ठूला छेरुवाहरू आँसु बगाउँछन् । अवधको विशाल देशको नवाब बन्दी बनेर जाँदै थियो र लखनउ विलासितको निद्रामा मस्त थियो । यो राजनीतिक अधोपतनको चरम सीमा थियो । (७२–७३)
दुबै खेलाडीलाई आफ्नो बाजी जित्नुसँग मात्रै सरोकार छ । उनीहरूको तल्लीनता बेसुरपनको छ । मीरले हार्दा उनको बोली यस्तो हुन्थ्यो :
मीरसाहेबले भने– “अङ्ग्रेज फौज आउँदै छ, अल्लाहले बचाऊन् ।”
मिर्जा– “आउन दिनोस्, चेक बचाउनोस् । ल, यो चेक ।”
मीर– “होइन, हेरौं न, यहीँ आड लागेर ।”
मिर्जा– “हेर्नुहोला, हतार के छ, फेरि चेक ।”
मीर– “तोपखाना पनि छ । पाँच हजारजति मानिस होलान् । कस्तो युवा छन् † रातो बाँदरको जस्तो मुख छ । अनुहार हेर्दा डर लाग्छ ।”
मिर्जा– “हजुर, धाँधली नगर्नोस् । यो अरू कसैलाई छक्याउनुहोला, यो चेक ।”
मीर– “तापाईं पनि अचम्मको हुनुहुँदो रहेछ । यहाँ सहरमा विपत्ति आएको छ तपाईंलाई भने चेकको ध्याउन्न ! सहर घेरियो भने घर कसरी पुगिएला भन्ने तपाईंलाई कुनै पीर छ ?”
मिर्जा– “घर जाने बेला आएपछि हेरौंला, यो चेक, बस अबको चालमा मात हुन्छ ।”
मिर्जाले हार्दा उनको बोली यस्तो हुन्थ्यो :
मिर्जासाहेबले भने– “नवाबसाहेबलाई दुष्टहरूले पक्राउ गरे ।”
मीर– “गरे होलान्, यो लिनोस् चेक ।”
मिर्जा– “महाशय, एक छिन पख्नोस् । यति बेला यतातिर मन लागेको छैन । बिचरा नवाबसाहेब यस बेला रगतको आँसु बगाए रोइरहेका होलान् ।”
मीर– “रोएकै होलान्, यो विलासिता त्यहाँ कहाँ भेटिएला ? यो चेक ।”
मिर्जा– “कसैको दिन सधैं एकनास हुँदैन । कति दु:खलाग्दो अवस्था छ ।”
मीर– “हो, त्यो त छ नै । ल हेर्नुस्, फेरि चेक । बस, अबको चेकमा हार छ । बच्न सक्नुहुन्न । ”
मिर्जा– “धरोधर्म ! तपाईं बडो निर्दयी हुनुहुन्छ । यति ठूलो घटना थाहा पाएर पनि तपाईंलाई दु:ख लाग्दैन । ओहो, बिचरा वाजिद अली शाह !”
मीर– “पहिले आफ्नो राजालाई बचाउनुस्, त्यसपछि नवाबको शोक मनाउनुहोला । यो चेक र मात ! हात ल्याउनुस् ।”
दुबै खेलाडीहरूको चेतना केवल गोटीहरूले चलाएको भान हुन्छ, र त्यही नै सत्य हो । वाजिद अली शाहप्रति उनीहरूको विलौना केवल दाउपेचको लागि मात्रै प्रयोग भएको देखिन्छ । उनीहरूको विलौना झुठा थियो ।
मीरले आफ्नो विजयोत्सव प्रतिद्वन्द्वीको सामु यसरी मनाउँछन् – “आउनुहोस्, नवाबको शोकमा एउटा शेर भनूँ ।” सुरुमा मैले बताएको जस्तै एकजना भाइ थियो जसले आपसमा बाजी जित्दा पालाम र ख्याली खूब भन्ने गथ्र्यो – काबेली यङ्घङ् माछा टिप्छ ....
हारको तोडमा उनीहरूबिच भनाभन सुरु हुन्छ । दुबैजनाले एक अर्कामा अपमान सहन नसक्ने किसिमका सुरवीर थिए । दुबैले एकअर्कालाई तरवारले हानाहान गरेर वीरता प्रदर्शन गर्दै आफ्ना जीवन गुमाए तर झुकेनन् । चेसबोर्डका राजा, मन्त्री, महारथी र सैनिकहरूले दुई बहादुर खेलाडीहरूको वीरता पूर्वक ज्यान गुमाएका चुपचाप हेरिबसे । कथाको अन्त्य मनोवैज्ञानिक रूपमा अत्यन्त बेजोड ढंगले भएको छ– आफ्ना राजाको लागि जसका आँखाबाट एक थोपा आँसु बगेन, उनीहरूले बुद्धिचालको मन्त्रीको रक्षाको लागि प्राण परित्याग गरे ।
यस कथाले वास्तविक
(Actual) र अवास्तविक
(Virtual) बिच मानव चेतनाले आफ्नो अवस्थिति जनाउने कुराको सङ्केत गर्दछ । जसलाई हामी वास्तविक घटना (Event) मान्छौं मीर र मिर्जाले त्यसैलाई अवास्तविक घटना (Non-event) मानेका छन् । त्यसैगरी, जसलाई हामी अवास्तविक घटना (Non-event) मान्छौं मीर र मिर्जाले त्यसैलाई वास्तविक घटना (Event)
मानेर सचेत भएका छन् । यतिसम्म कि उनीहरू दुबैजनाले ज्यान गुमाएर आफूहरू कायर नभएको सावित गरेका छन् । यी दुबै वास्तवमै चेतनाहीन कायर थिए भनेर हामीले फैसला गर्नै लाग्दा आफ्ना उद्यत कदमका निम्ति सचेतरूपले प्राण अर्पण गरेर हाम्रा निर्णयलाई समेत बदरगर्ने गरी आफैलाई हाम्रा सोंचाइको दायरा भन्दा बाहिर राखिराख्न सक्षम छन् ।
अर्को कुरा, राजनीतिमा प्रतिरोधको महत्व ज्यादै ठूलो हुन्छ भन्ने कुराको पनि यस कथाले सङ्केत गर्छ । युद्धको बेला गीत गाइबस्ने राजा देख्दा हामी ज्यादै पिरोलिन्छौं । खेलको दौरानमा मीर–मिर्जा वार्तालापमा यो कुरा अनुभव गर्न सकिन्छ । अनौठो कुरा चाहिँ के छ भने, मीर र मिर्जाले
(Event) लाई
(Non-event) द्वारा परास्त गरेका छन्, जो हाम्रो अनुमानित घोषणा भन्दा अलि बाहिरको कुरा हो । देखेदेखे जस्तो लागेर देख्नै नसक्ने पार्नुमै कलाको जादूगरी अन्तर्निहित हुन्छ । यसबाट के पनि अनुमान लगाउन सकिन्छ भने, जसलाई हामी अवध राज्यको पतनको कारण मान्छौं त्यो वास्तवमा
(Non-event) पो हो कि त, अर्थात्
(Virtual) मात्रै पो हो कि ! त्यसैपनि साम्राज्यवादमा धेरै कुराहरू रङ् रोगनले भरिएका हुन्छन् । जे भएपनि, देखिएको भन्दा अझ परसम्म देखाउने लेन्स प्रदान गर्ने कथाकार प्रेमचन्दलाई संसारकै साहित्यकारहरूले सम्मान गर्नु राम्रो होला ।
पुनश्च: भारतीय चर्चित चलचित्र निर्देशक सत्यजीत रायले पनि यस कथाका आधारमा एक चलचित्र निर्माण गरेका छन् । उनले अवधका वाजिद अली शाह सम्बन्धी निकै गहिरो अनुसन्धान गरेर यस चलचित्रको निर्माण गरेका हुन् । यस चलचित्रमा वाजिद अली शाह प्रमुख पात्रकै रूपमा देखा पर्दछन् । प्रेमचन्दको कथामा नभएका अन्य धेरै सूचनाहरू यस चलचित्रमा पाइन्छन् ।
सुशील सुब्बा
subbasushil751@gmail.com