Friday, December 28, 2012

चट्टान, मान्छे र हागन साहब


ढुङ्गा फोरेर सुँघिहेर्दा
गन्धले मान्छे बोकेर ल्याएपछि
*हागन साहबले ढुङ्गा अध्ययन गर्न छाडे ।

खुट्टाले १४००० कि.मी. सम्म
पैदल यात्रा गरेर
मनलाई अद्भुत स्थानतिर बोकी लगेपछि
हागन साहबले मान्छेको अध्ययन गर्न थाले ।

चट्टानका चेपबाट
निस्किआउने मान्छेहरू
कति कोमल र निर्दोष !
ज्यानको बाजी लगाएर
दिनभरी भारी बोक्दाको ज्याला
मात्र २ रुपैया लिन्छन् !
उसको दुनियाको
सबभन्दा ठूलो आवश्यकता
झोलुङ्गे पुल हो रे !
च्याङ्‌ग्राको मासु खाएको दिन
डर, थकान र मृत्युले समेत
भीर र भञ्‍ज्‍याङ छाडेर भाग्छन् ।
मृत्यु नै नभएपछि
भीरहुँदि कुदिहिड्नु
कुनै ठूलो कुरो भएन ।
दुःखले डढेर अंगार भएको बेला
आगोको भुङ्‌ग्रोमा फालिए पनि
कुनै अर्थ रहेन ।
चट्टानको छाँतीमै कुल्चेपछि
अहम र चुनौतीको के काम ?
आफै टाकुरामा उभेपछि
उचाइको के काम ?

डाइमण्ड खोज्न हिडेका हागन साहब
चट्टानमा मान्छे फेला पारेपछि
चुचुरोको शिर कुल्चेर उभो हेर्दा
जून त उ...... त्यही परसम्मै
उनलाई भेट्न आएको थियो ।
रातो गुराँसले ओठ सजाएर
गोरो अनुहारमा हिमाल हाँस्दा
स्वर्ग भन्नु
यतै कतै हो कि
भन्ने लागेको थियो उनलाई ।
सम्झेर झल्याँस्स महशुस हुदो रहेछ मान्छेलाई
सिकेर पढेको भन्दा ।

वर्षा
समुद्रको हावाले
बोकी ल्याउँदो रहेछ यहाँ
धेरै टाढाको डाँडापारीबाट
हुर्रेर आएको हुरीले
आगो दन्किदो रहेछ यहाँ
एउटा वृत्तमा दौडेको दुःख
बेतोडले चट्टान फुटाएर
चट्टान फुटाउँछ
चट्टान फुटाउनकै लागि यहाँ
एउटा पहाड भित्र पसेर
अर्को पहाड पारी निस्किने बुलेट ट्रेन
आउन मान्दैन यहाँ
मान्छेसित मात्र चट्टान
हार मान्छ यहाँ
कयौं पल्ट कुर्कुचाले
ढुङ्गा फुटाएका छन् यहाँ
यी कुर्कुचाहरू ब्यर्थमा चिरा परेका होइनन् ।

भोग्दा एउटै समय भोगेर दुबैले
इतिहास चाहीँ किन फरक फरक जन्माएका ?
खाँदा एउटै भातेजाँड खाएर दुबैले
मात्न चाहीँ किन फरक फरक मातेका ?
बग्दै गरेको एउटै झर्नाले फोटो खिच्दा
किन आ–आफ्नै मनको चित्र निस्केको ?

हिजआज बल्ल
हिसाब गर्छ मनले
बझाङको खुला चौरमा
क,ख पढ्ने सिङ्गाने नानीहरू
कहाँ कति फूल फक्रे होलान्
कहाँ कति आकासमा तारा चम्के होलान् !

हिजआज बल्ल
हागन साहबले हेरेका आँखाहरूले
हागन साहबलाई फर्की हेर्दैछन्
सम्झेर झल्याँस्स महशुस हुदो रहेछ मान्छेलाई
सिकेर पढेको भन्दा ।
टाकुरा भन्दा पनि माथि
आकास रहेछ
घाम, जून र ताराहरू रहेछन्
सौर्य मण्डल त
हामीले जानी बुझील्याएको कथा हो
अरु धेरै मण्डलहरू पनि रहेछन् ।



(*हागन साहब= Tony Hegan)

Wednesday, December 26, 2012

देश दुखेको बेला

भ्रष्टाचार अभियोगको हथ्कडी
नेताहरुको हात समाउदै
कारागारसम्म पुऱ्याइ राख्छन्
अनि प...र पुगेर खुइय गर्छ
देश दुखेको बेला ।

निर्निमेष हेरिरहेका
स्वयम्भूका दुई आँखाहरु
रगतका आँसु थाम्न नसकी
लोडशेडिङ्‌को अँध्यारो रातमा
चुपचाप चुपचाप रोइबस्छ
एकान्तमा सबै साथीहरुबाट छोडिएको अवस्थामा
एक्लै धक फुकाएर रोइबस्न
अर्थपूर्ण हुँदोरहेछ
मन हल्का हुनेरहेछ ।

आमा अस्पतालमा थिइन्
सिकिस्त थिइन बेडमा
‘मेरो त सास उभै रोकिन खोज्छ बाँच्दिन होला ’
मेरो गला भरेर आउँछ
सम्झेर ल्याउँदा त्यो दिन
डाँको छोडेर रुन पनि कति गाह्रो
देश दुखेको बेला ।

छोराहरु परदेशमा छन्
नेताहरु जेलमा
डाक्टरहरु
अर्कै इमर्जेन्सीमा खटिरहेका छन्
सबैलाई भ्याइनसक्नु छ
अस्त ब्यस्त सर्वत्र
गुहार पाउनै गाह्रो छ
देश दुखेको बेला ।

नयाँ नयाँ प्रविधिहरु आए
डाक्टरहरुका डाक्टर आए
तर रोगहरु
झन् झन् नयाँ अनुहारमा देखिन्छन्
धुकुटी जति रित्तिसक्यो
अल्पकालिन र दीर्घकालिन
बजेटको नाउमा
तर पनि
रोगको पहिचान छैन
पहिचान भए पनि
उपचार छैन
शायद जिउनु भनेकै दुख्नु हो कि ?
देश दुखेको बेला ।

उमेर नपुग्दै फुल्न थालेका
एकदुईवटा सेता कपालहरु
केशराशीमै कतै हराउँछन्
कतै लुकिबस्छन्
सेतो उखेल्दा कालो दुख्छ
देश दुखेको बेला ।

हेप्नसम्म हेपिएका
सार्वजनिक शौचालयहरु
माया पाउन नसकेका
सडकछेउका कन्टेनरहरु
केराजति खाएर
फ्याँकिएका बोक्राहरु
मिठाइका खोस्टाहरु
पोलिथिनका ब्यागहरु
समाजवाद खोजिहिड्छन्
हिड्दै गरेका भलाद्‌मी आँखाहरुमा
माक्‍सवाद मागिबस्छन्
धेरैलाई शहिद बनाउने
झुठा रणनीतिहरुमा
अचम्म !
यता शहर गन्हाएर
हिडिनसक्नु भएको बेला
एउटा चर्को नारा घन्क्यो –
‘हाम्रो माग पूरा नभएसम्म
फोहोर उठाउन दिदैनौं !
राल–सिङान–खकार–गोबरबाट
एकहुल किटाणु निस्केर
सडकमा चक्काजाम गरे
किटाणुहरु राजनीतिमा पसेछन्
देश दुखेको बेला ।