Friday, December 28, 2012

चट्टान, मान्छे र हागन साहब


ढुङ्गा फोरेर सुँघिहेर्दा
गन्धले मान्छे बोकेर ल्याएपछि
*हागन साहबले ढुङ्गा अध्ययन गर्न छाडे ।

खुट्टाले १४००० कि.मी. सम्म
पैदल यात्रा गरेर
मनलाई अद्भुत स्थानतिर बोकी लगेपछि
हागन साहबले मान्छेको अध्ययन गर्न थाले ।

चट्टानका चेपबाट
निस्किआउने मान्छेहरू
कति कोमल र निर्दोष !
ज्यानको बाजी लगाएर
दिनभरी भारी बोक्दाको ज्याला
मात्र २ रुपैया लिन्छन् !
उसको दुनियाको
सबभन्दा ठूलो आवश्यकता
झोलुङ्गे पुल हो रे !
च्याङ्‌ग्राको मासु खाएको दिन
डर, थकान र मृत्युले समेत
भीर र भञ्‍ज्‍याङ छाडेर भाग्छन् ।
मृत्यु नै नभएपछि
भीरहुँदि कुदिहिड्नु
कुनै ठूलो कुरो भएन ।
दुःखले डढेर अंगार भएको बेला
आगोको भुङ्‌ग्रोमा फालिए पनि
कुनै अर्थ रहेन ।
चट्टानको छाँतीमै कुल्चेपछि
अहम र चुनौतीको के काम ?
आफै टाकुरामा उभेपछि
उचाइको के काम ?

डाइमण्ड खोज्न हिडेका हागन साहब
चट्टानमा मान्छे फेला पारेपछि
चुचुरोको शिर कुल्चेर उभो हेर्दा
जून त उ...... त्यही परसम्मै
उनलाई भेट्न आएको थियो ।
रातो गुराँसले ओठ सजाएर
गोरो अनुहारमा हिमाल हाँस्दा
स्वर्ग भन्नु
यतै कतै हो कि
भन्ने लागेको थियो उनलाई ।
सम्झेर झल्याँस्स महशुस हुदो रहेछ मान्छेलाई
सिकेर पढेको भन्दा ।

वर्षा
समुद्रको हावाले
बोकी ल्याउँदो रहेछ यहाँ
धेरै टाढाको डाँडापारीबाट
हुर्रेर आएको हुरीले
आगो दन्किदो रहेछ यहाँ
एउटा वृत्तमा दौडेको दुःख
बेतोडले चट्टान फुटाएर
चट्टान फुटाउँछ
चट्टान फुटाउनकै लागि यहाँ
एउटा पहाड भित्र पसेर
अर्को पहाड पारी निस्किने बुलेट ट्रेन
आउन मान्दैन यहाँ
मान्छेसित मात्र चट्टान
हार मान्छ यहाँ
कयौं पल्ट कुर्कुचाले
ढुङ्गा फुटाएका छन् यहाँ
यी कुर्कुचाहरू ब्यर्थमा चिरा परेका होइनन् ।

भोग्दा एउटै समय भोगेर दुबैले
इतिहास चाहीँ किन फरक फरक जन्माएका ?
खाँदा एउटै भातेजाँड खाएर दुबैले
मात्न चाहीँ किन फरक फरक मातेका ?
बग्दै गरेको एउटै झर्नाले फोटो खिच्दा
किन आ–आफ्नै मनको चित्र निस्केको ?

हिजआज बल्ल
हिसाब गर्छ मनले
बझाङको खुला चौरमा
क,ख पढ्ने सिङ्गाने नानीहरू
कहाँ कति फूल फक्रे होलान्
कहाँ कति आकासमा तारा चम्के होलान् !

हिजआज बल्ल
हागन साहबले हेरेका आँखाहरूले
हागन साहबलाई फर्की हेर्दैछन्
सम्झेर झल्याँस्स महशुस हुदो रहेछ मान्छेलाई
सिकेर पढेको भन्दा ।
टाकुरा भन्दा पनि माथि
आकास रहेछ
घाम, जून र ताराहरू रहेछन्
सौर्य मण्डल त
हामीले जानी बुझील्याएको कथा हो
अरु धेरै मण्डलहरू पनि रहेछन् ।



(*हागन साहब= Tony Hegan)

No comments: