Wednesday, July 31, 2013

म हिड्ने गल्लीबाट


म सधैं हिड्ने
गल्ली, बाटो र चोकमा
गहिरो नजर लगाइ
हेरीबस्छु सधैं मलाई –
धेरै जीवनहरूमा एउटा छुट्टै जीवन
ओहोर दोहोर गरिबस्छ ,
बिहान जान्छ
बेलुकी फर्किआउँछ ।


बलैले च्यापेर, जोगाएर गल्लीबाट 
मूलबाटोमा पुर्‌याइ राख्छु ।
मूलबाटोबाट चोकमा
बसमा चढाइ बिदा गर्छु ।
दिनभरी धेरै खहरेहरूमा
एउटा खहरे मिसिएर
विशाल जीवनहरूमा एउटा जीवन हराउँछ ।
घर– कार्यालय– कामकाज
मित्र–शत्रु– हेर्नु– हेरिनु
छोएर जानु– कसैले छुनु
तारिफ–धम्की–चुनौती–अवसर
बच्नु र बचाउनु ....

बेलुकी एउटा छायाँ  फर्‌केर आउँछ,
म सधैं हिड्ने
गल्ली, बाटो र चोकमा ।

हरेक साँझले
एउटा आत्मग्लानी र दर्दमा
पर्दा खसाउँछ ।
हरेक बिहानले
एउटा तमाशाको निम्ति
पर्दा उघार्छ ।
मञ्चमा पुगेपछि
स्क्रीप्ट बिर्सने कलाकारको निम्ति
यताबाट सहानुभूति निस्केर
सहानुभूति फेरी फर्किआउँछ ।


बाटो किनारमा भएका
बिजुलीका खम्बाहरूबाट हेर्छु म
चोकमा भएका पसलेका आँखाहरूबाट हेर्छु म
कार्यालय छेउसम्म
बोकी लैजाने गाडीबाट हेर्छु म
माया दिँदा मात्र
माया पाइएको हो कि
अब त
बाटो, गल्ली र चोकले
परैबाट चिन्छ मलाई
मायाले हेरेर
माया देख्छु म –

म सधैं हिड्ने

गल्ली, बाटो र चोकमा ।


(४ अक्टुबर २०११)

No comments: