Saturday, January 25, 2014

गजल (आफ्नै श्रीमतीलाई)

मलाई सम्‍झी झर्को लागे मनै साफ गर
मेरो कसम कति तोडेँ मलाई माफ गर ।

मिठो भोजन दिन्‍छु तिमीलाई रेष्‍टुराँमा जाऔं
भन्‍थे होला तर आज मलाई माफ गर ।

पैलो भेटमा भन्‍ने गर्थेँ सुनकै बाला दिउँला
बिहे पछि गाह्रो भयो मलाई माफ गर ।

नसकिने रैछ प्रिय जून-तारा झार्न
तिम्रै पाउँमा झुकेँ बरु मलाई माफ गर ।

रिसाए नि रिसाऊ बरु छोडी चाहिँ नजाऊ
दुःखदिएँ आफ्‍नै ठानी मलाई माफ गर ।

कुनै दिन घुम्‍न जाऔंला चिप्‍ले कार चढी
आज चाहिँ टेम्‍पो चढौं मलाई माफ गर ।

भो हौउ प्रिय डिस्‍को नजाऔं घर फर्की जाऔं
भुराभुरी बाटो कुर्छन्‌ मलाई माफ गर ।

अर्कोपाली धेरै  दिउँला घर खर्च गर्न 
यसपाली चाहिँ हजार थाप मलाई माफ गर ।

जुनी जुनी माया गर्ने म नै एउटा हुँ नि 
चोखो माया चाख्‍ने भए मलाई माफ गर । 

मलाई सम्‍झी झर्को लागे मनै साफ गर
मेरो कसम कति तोडेँ मलाई माफ गर ।

No comments: